बिचार

बिदेशी छायाँ स्वदेशको माया

युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा गर्छन होला ? मलाइ लाग्छ हरेक मान्छेले आफ्नो जीवन जन्मदिनमा पक्कै नियाल्छन । मलाइ त सपनामा जन्मभुमिले सताइरहन्छ । मलाई जस्तै काम, माम र अवसरका लागि परदेश भाँसिनु परेका तमाम नेपाली युवाहरुको निन्द्रामा आफ्नै घर आँगन सपनामा नाच्दो हो ! 

काभ्रे जिल्लाको साविक देवभूमी बालुवा गाविस ८ लुइँटेलगाउँमा जन्मिएर हुर्केको त्यो ठाउँ, त्यो घैरिनी डाँडा, खोका खोल्सो, डुडेको चौर पातालको वन, रानीपानी, चापाकोबोट, बकुल्टार, खामपुर, देवभूमी बालुवा मात्र होइन माथि धुर्पुरादेखि तल ढोट्नेसम्म मेरा कलिला पाइलाहरुले धेरैपल्ट त्यो जमीन नाप्यो । त्यही कयौं पटक ठेस लाग्दा ऐया आमा भनेर चिच्याएँ । ढोडारा र इन्द्रवानको फाँटमा दाइँ गर्दा गोरु धपाईयो । असारे रोपाइँमा हिमाम्य भईयो । टन्यौटे र ओखले कुवाको पानी खाईन्थ्यो । यसरी जम्माजम्मी आमा बाबासँग ५ हजार १ सय १० दिन बिताएछु मैले । त्यसपछि सर्वमंगलाबाट एसएलसी गर्दा मामाघरको त्यो दुलालथोक काफ्लेडी तामाघाट, तीनपिप्ले र बालुवाका सेरोफेरोमा लगभग १२ सय दिन बितेछन् । पार्टीमा संगठित हुँदा, आरआर कलेज हुँदै कालिकोट, जुम्ला, मुगु, डोल्पाका ती दुर्गम बस्तीदेखि काठमाडौंसम्म ९ सय दिनहरु र जीवनको ऊर्जाशील अवस्थामा ६ हजार ६ सय ६५ दिन बनेपालाई केन्द्र बनाउँदै म देश विदेश पुगेछु । यसै दौरानमा मबाट हामी चार भयौं । कामको दोरानमा मेरो सामिप्यतामा धेरै आए त केही पात्र खलनायक पनि भए । मित्र एग्रो भेटको त्यो मेरो दैनिकी काभ्रे टाइम्सको स्थापनादेखि रेडियो प्रसारणसम्मको संख्या र अनुहारको सम्झनामा आउने ति अनुहारहरु मैले हिसाब गर्नुपर्छ । थुप्रै अनुहारहरुको छुट्टै प्रवृत्तिसँग ति सबै बानी व्यहोरा र बेग्लाबेग्लै नाम र व्यक्तित्व र प्रवृतिका बारेमा वर्णन गरेर यहाँ साध्य छैन ।

जव सपनाले सताउँछ  मेरा भावनाहरु जो उफ्री उफ्री मनबाट बाहिर प्रकट भइरहेका हुन्छन । तिनीहरुलाई दवाउन नसकेर धेरै पटक भावनामा भक्कानिएको छु । युरोपका फ्रान्स जर्मनी बेल्जियम नेदरल्याण्ड लग्जम्बर्ग इटाली लन्डन स्पेन पोर्चुगालका गल्लीहरुमा भौतारिएको छु । सबैले भन्ने गरेको सपनाको देश अमेरिका पुग्दा पनि मलाइ त्यस्तो आहा जस्तो यो मनमा भएन ।  

जीवनको तथ्य उजागर गर्ने क्रममा पहिलो महान व्यक्तित्व भनेकै आमा र धर्ती रहेछन् । जसलाई जति कुल्चेपनि यो धर्तीले ऐया भन्दैन । त्यस्तै आमालाई जति सन्तानले दुःख दिए पनि उनको सन्तानप्रति कुनै पनि आमाले गुनासो गरेको मलाई थाह छैन । काभ्रेमा काभ्रे टाइम्सकै नामबाट मैले संचार संस्थालाई स्थापना गरें । काभ्रे टाइम्स प्रकाशन भएको पनि २३ बर्ष भएको छ । आम काभ्रेलीको माया त छ तर पत्रिकालाई समयानुकुल बनाउन सकिएको छैन । म प्रतिका ती विश्वासलाई डगमगाउन दिने छैन भन्ने प्रतिवद्धता गरेको छु । योजना त् धेरै छन् तर अझै समय अनुकुल छैन । साँच्चिकै देश सजिलै छिट्टै बन्ने छाटकाट मैले देखेको छैन । हाम्रो देशमा जंगबहादुरको त् जन्म भयो तर देश बनाउने कुनै बहादुर अहिलेसम्म किन जन्मिएन ?

मेरो मोह मेरै धर्तीप्रति हो । हो, मानिसलाई अन्ततः परदेशको वैभव भन्दा स्वदेशको अभाब र झमेला नै बरु सही लाग्ला । ठुलो त आफ्नै समाज, आफ्नै संस्कृति, आफ्नै पाखा पखेरु हुँदो रहेछ । तिनलाई मृत्यु पछाडि पनि ऊ छोड्न चाँहदैन । सायद विज्ञहरुले भन्ने गरेको राष्ट्रियता, देश भक्तिको जग यस्तैबाट बन्दो हो । म भित्रको प्रतिकुलतालाई अनुकुलतामा बदल्न पराई भूमिमा छु । यहाँ भाषा, रहनसहन र भूगोल नै बेग्लै भएकोले झनै प्रतिकुलता छ तर जीवनका लागि नभई नहुने ज्ञान, सीप र अवसर यहाँ भएकोले त्यसलाई आफ्नो बर्कतले भ्याएसम्म लिने प्रयत्नमा छु । सबै परिचित प्रति गहिरो सम्झना र न्यानो माया ! 

आर एल श्रमजीवी

बेल्जियम