समाचार

लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

काठमाडौं

महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए ।

एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य गठन गरी अपरेसन थालेका हौं, सोही अनुसार अनुसन्धान गर्नका लागि ललितपुरका एक प्रहरी निरीक्षकलाई पनि हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौं” ।

लागुऔसध ओसारपसार गिरोहमा इन्सपेक्टर शाहीको प्रमुख भूमिका देखिएको प्रहरीको दावी छ । सो समूहमा इन्सपेक्टर शाहीसँगै एक पूर्व पाइलट भूपेश शेरचन (साहित्य सर्जक भूपी शेरचन पुत्र) पनि पक्राउ परेको छ । शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट हुन् । डिप्रेसनले गर्दा लागुऔषध कारोबारमा लागेको प्रहरी समक्ष उनले बताएका छन् । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय नेपाल एयरलाइन्सका कर्मचारी भुपेशले जागिर सुरु गरेको केही वर्षमै राजीनामा दिएका थिए । प्रहरीको सुरुवाती सोधपुछमा भुपेशले ‘जागिर सुरु गरेपछि केही विमान दुर्घटनामा साथीहरु गुमाएपछि डिप्रेसनमा पुगेको’ बताएका छन् ।

विश्वसन्देश सम्वाददाताले लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता एसपी धितालसँग बृस्तित जानकारी माग्ने क्रममा बताए; “खासमा प्रहरीले सन्तोष कुमार साहलाई वाच गरि राखेको थियो । यस अघि पनि २०७३ सालमा लागूऔषध मुद्दामा सन्तोस साह धरौटीमा रिहा भएको व्यक्ति हो । सन्तोस प्रहरीको निगरानीमा नै थियो । स्थानीयको जानकारीको आधारमा र त्यसको गतिबिधि हेरेर हामीले ३ महिनादेखि पछि लागिराख्यौं । गत बुधबार हामीलाई सन्तोषको पेप्सीकोलास्थित कोठामा सामान आउने थाहा भएपछि तत्काल छापा मार्यौं । सबुत प्रमाण सहित सन्तोस पक्राऊ पर्यो । त्यसैबेला त्यहाँ लागूऔषध सेवन र खरिद गर्न भूपेश पनि पुगेका रहेछन् । पछि सन्तोसले नै ओसारपसारमा सहयोग गर्ने काम प्रहरी इन्सपेक्टर शाहीले गर्ने बताएका हुन् । इन्सपेक्टरलाई पक्राऊ गर्दा इन्सपेक्टरको कोठाबाट पनि लागूऔषध बरामद भयो” । 


पक्राऊका सम्वन्धमा लागू औषध नियन्त्र ब्युरो काठमाडौंले प्रेस बिज्ञप्ति समेत जारी गरी सकेको छ । पक्राऊ पर्नेमा शाही र शेरचनसँगै ज्ञानेश्वरका अविनास थपलिया, बर्दीयाका सन्तोष कुमार साह र उदयपुरका एलिसन बस्नेत छन् । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।