समाचार

प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ फर्किएको छ ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार आयोजना गरेको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले हप्ता, १५ दिनमै प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको समेत उल्लेख गरे ।

भारतको राज्य संयन्त्र नै नेपालमा प्रधानमन्त्रीलाई लडाउन सक्रिय रहेको उनको आरोप छ । अघिल्लो पटक आफु प्रधानमन्त्री भएको समयमा चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेकै कारण आफ्नो सरकार ढलेको उनको दावि छ ।

नेपालका होटलमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियतालगायत समेत आफ्नो सरकार ढाल्न सक्रिय रहेको उनको भनाई छ । नेपालको नक्सा छापेरे कुनै गल्ती नगरेको दावि गर्दै प्रधानमन्त्रीले आफुलाई हटाउने सपना पूरा नहुने बताए । अब नेपालसँग भूमि फिर्ता लिनुको विकल्प नरहको उल्लेख गरेका छन् ।