विज्ञान प्रविधि

देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् ।

यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वको कार्यदलले जेठ २३ मा एक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको सारांश भने नेपालमा यो वर्ष सलह नआउने उल्लेख थियो । सलह नियन्त्रण गर्न विषादी प्रयोगको सुझाव कार्यदलको थियो । तर, विज्ञहरुले भने सलहलाई विषादी प्रयोग भन्दा जैविक विधिबाट नियन्त्रणको सुझाव दिएका छन् ।

सोही अनुसार प्रदेश ५ र सुदुरपश्चिम सरकारले भने जैविक विधिको प्रयोग गर्न प्रोत्साहनको कार्यक्रम समेत ल्याएका छन् । प्रदेश ५ मा सलह समातेर लगेमा प्रतिकिलो २० रुपैयाँ र सुदुरपश्चिम प्रदेशमा प्रतिकिलो २५ रुपैयाँ मूल्य तोकिएको छ । प्रदेश ५ सरकारले त सोमबार करीव ८ किलो सलह बच्चाहरुबाट खरीद समेत गरिसकेको छ । यो किरा नियन्त्रण गर्न अपनाइएको उपाय थियो ।

नेपालमा सलह प्रवेश गरेको भोलिपल्ट कृषि मन्त्रालय तथा पशु विकास मन्त्रालयले नेपाल आएको सलहको बथान सानो भएको भन्दै नआत्तिन आग्रह गरेपछि यसको फैलावट भने देशभर पुगिसकेको छ । यसले तराई, पहाड र हिमालको प्रमुख बाली मकैमा क्षति गर्ने अनुमान छ ।

मन्त्रालयका अनुसार रुपन्देहीमा क्षतिको अनुमान गरिएको छ । मन्त्रालयले भने अको तीन दिनको मौसमी अवस्था हेरी सलहले लिने फैलावटबारे भन्न सकिने बताएको छ ।