समाचार

सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

कल्पना घिमिरे
न्यूयोक/अमेरिका
अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले ‘टिपीएस टाउनहल’ कार्यक्रम आयोजना गरेको थियो । सन् २०१५ देखि नै नेपालीलाई टिपीएस सुविधा दिलाउनका लागि अधिकारले निकै महत्वपूर्ण भुमिका खेल्दै आएको छ । टाउन हलमा अमेरिकी सरकारका कर्मचारीलाई आफ्ना समस्याबारे सुनाइएको थियो । टिपीएसको अवधि मार्च २४, २०२० सम्म स्वत लम्बिए पनि ड्राइभर लाइसेन्स र स्टेट आइडीको नबीकरण गराउने म्याद आगामी जुन २४ सम्म मात्र भएकोले नबिकरण गर्नका लागि ‘फेडरल रजिस्टर्ड नोटिस’ आवश्यक पर्ने जानकारी गराएका छन् । कार्यक्रममा गत मे १० मा प्रकाशित सुचना ‘फेडरल रजिस्टर्ड नोटिस’ पनि वितरण गरिएको थियो । टाउन हल कार्यक्रममा टिपीएस बाहकक नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
अधिकारले टीपीएस टाउन हलको आयोजना गरेर नेपालीले भोगिरहेको बिभिन्न समस्याबारे युएससीआइएसका कर्मचारी र इमिग्रेसन लयर लाई सुनाएर समस्याको समाधान खोज्ने प्रयास गरेको अधिकारकी डाइरेक्टर पबित्रा बेन्जामिनले बताइन् । ‘हामीहरु टिपीएस प्राप्त गराउन सुरुवाती चरणदेखि नै लागिरहेका छौं’ उनले भनिन्, ‘तर, अब टिपीएस मात्र हाम्रा लागि पर्याप्त छैन । हामीलाई यसको दिर्घकालिन समाधानको बाटो चाहिएको छ ।’ उनका अनुसार नेपालीलाई टिपीएस प्राप्त गराउन देखि म्याद थप गराउन समेत अधिकारले नेतृत्वदायी भुमिका खेल्दै आएको छ । टिपीएसको स्थायी समाधानको लागि के गर्न सकिनेबारे आफुहरु लडिरहेको पनि उनले जानकारी दिइन् ।
कार्यक्रममा उपस्थित युएससीआइएस की कम्युनीटि रिलेसन अफिसर स्याकोनिया वर्डनले टिपीएसको म्याद थपिएर पनि प्रुफ देखाउन नसकेर ड्राइभर लाइसेन्स लगायतमा नविकरण गर्न समस्या भइरहेको बताइन् । सबै आवशयक कागजात लिएर आवेदन दिने हो भने तुरुन्तै नबीकरण हुने उनले बताइन् । ‘टेम्प्रोररी प्रोटेक्टेड स्टाटस भनेको केही समयका लागि मात्रै हो यसलाई टेम्प्रोररी भनेरै बुझ्नुहोला । यसबाट ग्रिन कार्ड पाउन सकिदैन’ उनले भनिन् ।
इमिग्रेसनकी एटोर्नी मेलोनीले लाइसेन्स नबीकरण गर्न डिएमभी कार्यालय जाँदा फेडरल रजिस्टर नोटिस लिएर मात्र जान आग्रह गरिन् । फेडरलको नोटिस लिएर गएमा लाइसेन्सको अवधि पनि स्वत थपिने उनले जानकारी दिइन् ।
कार्यक्रममा टिपीएसबाहकहरुले आफुले भोग्दै आएका समस्या सुनाएका थिए । अमेरिकाकै थुप्रै सरकारी निकाय र रोजगारदातालाई टीपीएस र ‘अटो एक्सटेन्सन’ भनेको थाहा नभएको गुनासो गरिएको थियो । काम गर्ने अनुमति पत्रको म्याद मार्च २४, २०२० सम्म बढेको भन्ने पुष्टि गर्ने आधार के ? रोजगारदाता कम्पनीलाई के कसरी सम्झाउने ? लगायत थुप्रै प्रश्नहरु सोधिएका थिए । टिपीएसबाहक हरुलाई अधिकारले के कसरी सहजीकरण गर्छ भन्ने विषयमा बृहत छलफल भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई समयमै नबिकरण गराउन पनि अनुरोध गरिएको थियो ।
अमेरिकी सरकारको फेडरल रजिस्टरमा सुचना प्रकाशित भए अनुसार ८ हजार ९ सय ५० नेपालीले टिपीएस सुविधा लिइरहेका छन् । सन् २०१५ मा भने १४ हजार नेपालीले यो सुविधा लिएका थिए । एक पटक टिपीएस सुविधा सकिएर नवीरकण गर्ने क्रममा टिपीएसबाहकको संख्या घटेको हो ।
चार वर्ष अघि बिं स.२०७२ साल बैशाख १२ गते (अप्रिल २५, २०१५)मा नेपालमा ठूलो महाभुकम्प गएको थियो । भुकम्पले नेपालमा ठूलो जनधनको क्षति भएपछि अमेरिकी सरकारले त्यसको २ महिनामै (जुन २४, २०१५) अमेरिकामा रहेका रहेका सम्पूर्ण कागजपत्र विहिन नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टिपीएस) सुविधा प्रदान गरेको थियो । नेपालमा रहेका आफन्त र परिवारलाई सहयोग गर्न पाउन् भन्ने उदेश्यले कागज बिहिन नेपालीलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था गर्न अमेरिकी सरकारले तत्काल टिपीएसको व्यवस्था गरेको हो ।