फिचर

ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो ।

अमेरिकी जासुसी संयन्त्रले गत मार्चमा नै अफगानिस्तानका आतंककारी संगठनसँग रसिया सहकार्यबारे राष्ट्रपति लगायत अमेरिकी नेतृत्वलाई  रिपोर्ट गरि सकेको सनसनीखेज समाचार गत शुक्रबार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । त्यसपछि वासिंटन पोष्ट, सिएनएन एवं ट्रम्प प्रति नरम फक्स न्यूज, वालस्ट्रिट जर्नलले समेत आ-आफ्नो स्रोतबाट पुष्टि गर्दै उक्त समाचार प्रकाशन प्रशारण गरे । तर, ह्वाइट हाउस अधिकारी एवं ट्रम्प भने आफुलाई जानकारी नै नभएको दावी गर्दै आएका छन् ।

सोमबार विहान एसोसिएट प्रेसले फेरि ट्रम्प उक्त प्रकरणको जानकार रहेको दावी साथ समाचार प्रकाशन गरेको छ । वासिंटन पोष्टले आइतबार पछिल्ला दुई बर्षमा अफगानिस्थानमा अमेरिकी सैनिक हत्यामा रुसी चाल भएको विश्वास अमेरिकी सुरक्षा संयन्त्रले गरेको अर्को समाचार प्रकाशित गरेको थियो । यो घटना सार्वजनिक भएपछि शनिबार र आइतबार दुबै दिन ट्रम्प गल्फ खेल्न भर्जिनिया स्थित आफ्नो गल्फकोर्स पुगेका थिए ।

उनले अमेरिकी सैनिक आक्रमणमा रसियन संलग्नताभन्दा समाचारप्रति आशंका गरेका छन् । समाचार छापिएपछि पनि गम्भिरता देखाउनको सट्टा गल्फ खेल्न जानुले उनले यो सूचनालाई कत्तिपनि महत्व नदिएको पुष्टि गर्छ । आफ्नो सुरक्षा संयन्त्रले यो सूचना त्यती भरपर्दो नलागेर आफुलाई नसुनाएको दावी सहित उनले आइतबार राती ट्विट गरेका थिए । समाचार सार्वजनिक भएपछि पनि रसियाप्रति उनको मौनतालाई सुरक्षाविज्ञ एवं विपक्षिहरुले तारो बनाएका छन् । डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले ट्रम्पको राष्ट्रपति पदनै रसियाको उपहार रहेको टिप्पणी गरेका छन् ।