समाचार

टिकटक अब भारतमा नचल्ने,  ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

न्यूयोर्क

चीनसँगको दुस्मनी बढ्दै जाँदा भारतले युवा माझ लोकप्रिय टिकटक सहित ५९ चिनियाँ मोबाइल एप देश भित्र प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधी मन्त्रालयले देशभित्र चल्न रोक लगाएका अन्य लोकप्रिय एपमा सेयरआटी, युसी ब्राउजर, लाइकी, विच्याट, विगो लाइभ लगायत छन् ।

भारतको स्वतन्त्रता, सार्वभौम सत्ता एवं राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर चिनियाँ एप प्रतिबन्धको निर्देशन जारी गरेको मन्त्रालयको भनाइ छ । लद्दाख स्थित भारत र चीनको सीमा क्षेत्र (लाईन अफ कन्ट्रोल)मा पछिल्लो समय बढ्दो विवादबीच भारतले यो कदम अघि सारेको हो । दुई देशका सेनाबीच बन्दुकको प्रयोग बिना भएको हानाहानमा २० बढि भारतीय सैनिकको मृत्यु भइ सकेको छ ।

भारतमा चिनियाँ मोबाइल एप्लिकेशनहरुप्रतिको आक्रोश लगातार बढि रहेको थियो । यसै क्रममा सरकारले अहिलेसम्मकै ठूलो कदम चालेको हो । एक अर्ब ३० करोड भारतीयको गोपनियता रक्षा र इन्टरनेट डेटा सुरक्षाबारे लगातार प्रश्नहरु उठि रहेको कारण यो कदम चालेको मन्त्रालयको भनाइ छ । टिकटकका कुल ८० करोड प्रयोगकर्तामध्ये १२ करोड भारतमा मात्र थिए । कम्पनीको लोकप्रियता र बढ्दो बजारमा भारतीय कमदले राम्रै धक्का लाग्नसक्ने देखिएको छ ।