समाचार

न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

न्युयोर्क

न्युजर्सीस्थित एक हप्ता अगाडि आफ्नै घरको करेसाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको तिनै जनाको मृत्‍युको कारण ८ वर्षीया नाबालिकालाई बचाउने क्रममा भएको प्रहरीले बताएको छ । 

६२ वर्षीय भरत पटेल, उनको ३२ वर्षीया बुहारी निशा पटेल र ८ वर्षीया नातिनी गत जुन २२ तारिखका दिन जमिन माथि बनाईएको पौडी पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । ९११ मा छिमेकीले फोन गरेपछि घटनास्थलमा प्रहरी पुग्दा परिवारका तीन जना नै अचेत अवस्थामा भेटिएका थिए ।  

सुरुमा ८ वर्षीया बालिका पौडी पोखरीमा पसेको र डुब्न थालेपछि हजुर बुवा र बच्चीको आमा बालिकालाई बचाउन पानीमा पसेको तर दुबै जनालाई पौडी खेल्न नआऊने हुँदा तिनै जनाको पानीमा डुबेर मृत्‍यु भएको ईस्ट ब्रन्सविकस्थित प्रहरी लुटेनेण्ट फ्र्यांक सटरको हवाला दिंदै एनजे डट कमले लेखेको छ । 

मिडिलसेक्स काउन्टीका अभियोजक र प्रहरीले साधारणतया जमिनमाथि निर्माण गरेको पौडी पोखरी साँढे तीन फिटसम्म हुने भएपनि त्यो पोखरीको केही भाग भने ७ फिटसम्म भएको र मृतकहरु कसैलाई पनि पौडिन नआउने अवस्था देखिएको छ । एक महिना अगाडि मात्र घर खरिद गरेर उक्त घरमा सर्दा पौडी पोखरी पहिले नै रहेको रियल स्टेट लिस्टिङले देखाएको पनि एनजे डट कमले जनाएको छ ।  

काउन्टीका रिजनल मेडिकल एक्जामिनरले तिनै जनाको मृत्‍यु दुर्घटनाबस डुबेर भएको बताएका छन् । मृत्‍युमा विद्युतीय करेन्टको कुनै पनि भूमिका नभएको बताईएको छ ।  पटेल परिवार साउथ ब्रन्सविकबाट पहिलो घर किनेर इष्ट ब्रन्सविक गएको थियो ।