स्वास्थ्य

कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

योगेश आदी 

यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया वरिपरी हिड्नै डराउनेहरु पनि छन् । त्यसताका म बसेको ज्याक्सन हाइट्स क्षेत्रलाई आगोको भुँग्रो संज्ञा दिएका थिए । अहिले अस्पताल परिसर सामान्य देखें । स्वास्थ्य कार्यकर्ताहरु पनि भाइजर विहिन र सामान्य मास्कमा मात्र थिए । ८ जनाले एण्टिबडी परिक्षण गरायौं । हाम्रो परीक्षणको नतिजाले हामीलाई नै चकित बनायो । धेरै प्रश्नहरु उब्जिए । हाम्रो एण्टिबडी टेष्टले कोरोनाभाइरसलाई थप कोतुहल बनायो ।

के हो एण्टिबडी टेष्ट ?

यो परिक्षण स्वस्थ अवस्थाको व्यक्तिलाई कोरोना भाइरसको संक्रमण बिगतमा थियो वा थिएन भनेर हेर्नको लागि गरिन्छ । एण्टिबडी टेष्ट भन्नाले भाइरसको बिरुद्धमा शरीरको लड्ने क्षमता नाप्नु हो । जुन भाइरससँग लड्नुपर्ने हो, शरीरमा पनि त्यही भाइरस हुनु जरुरी छ । मानव शरीरमा स्वस्फुर्त रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बिद्यमान हुन्छ तर नौलो प्रकृतिको रोग आयो भने शरीरले नयाँ भाइरस चिन्दैन अनि बिरामी पर्दछ । जस्तो; हामीलाई सानोमा दादुरा, डिपिडी, बिसिजी, मलेरिया इत्यादीको सुई लगाइदिने गर्दछ, त्यो सुईभित्र हामीलाई त्यही भाइरस दिइएको हो किनकि भाइरससँग लड्न शरीरमा भाइरस नै हुनु जरुरी छ । त्यसको मतलव हाम्रो शरीरलाई सानैमा ती भाइरसमैत्री बनायो भने पछि त्यही भाइरसले समात्न सक्दैन, भन्ने उद्देश्य हो । हामीले हरेक बर्ष ‘फ्लु शट’लगाउने भनेर सुई लिनुको अर्थ त्यो रुघाखोकीको भाइरस सुई मार्फत लिनु हो । कोरोना भाइरस पुरानो भएपनि, यो हाल चलेको कोभिड १९ भन्ने चाँहि नयाँ हो । यो भाइरससँग हामी परिचित थिएनौं । हाम्रो शरीरलाई नौलो लागेकोले लड्न इन्कार गर्यो, हामी बिमारी पर्यौं । हाम्रो शरीर त्यो भाइरसमैत्री बनिसकेको भए बिरामी पर्ने थिएनौं । त्यसैले, एण्टिबडी परिक्षण गर्नु भनेको आफ्नो शरीरको तोकिएको रोगसँग लड्ने भाइरसको लेभल हेर्नु पनि हो ।

कोभिड १९ टेष्टको रिजल्ट कसरी बुझ्ने ?

त्यसो त एण्टिबडी टेष्ट जुनसुकै भाइरसको पनि हुन्छ । हामीले गरेको कोभिड १९ नतिजा भने अलि फरक छ ।

हाम्रो शरीरमा ४ प्रकारका कोरोनाका भाइरसहरु हुनसक्ने भएकोले यो कोभिड १९ नामाकरण गरिएको भाइरसको एण्टिबडी टेष्ट गर्दा चाँहि त्यसको लेभल (इण्डेक्स भ्याल्यु) १.३९ को बोर्डर लाइन तोकिएको छ । यदि कोही व्यक्तिको नतिजा त्यो भन्दा माथि देखायो भने ‘पोजेटिभ’ र सो भन्दा कम आयो भने ‘नेगेटिभ’ मानिन्छ । पोजेटिभ देखिनुको अर्थ शरीरमा त्यो भाइरस आइसकेको थियो र अब शरीरले त्यो भाइरस बिरुद्ध लड्नको लागि आफ्नो शरीरमैत्री भाइरस बनाइसकेको छ, भन्ने बुझिन्छ । त्यसको अर्थ; अब सो भाइरसले सितिमिती बिरामी पार्न सक्दैन वा पचाउन सक्छ भन्ने हो । नतिजा नेगेटिभ आउनु भनेको शरीर सो भाइरससँग परिचित छैन भन्नु हो ।

मेरो नतिजा र भ्रम के हो ?

मेरो परिवारमा ६ जना छन् । चर्पी, भान्छा, पानी बोतल, टावल तथा प्रायश सरसामान कमन प्रयोग गर्छौं । बहिनी ज्वाईको पनि सबै कमन देख्छु । हामी नजिकै भएकोले भेटघाट बाक्लै हुन्छ । ज्वाईले यो कोरोनाको महामारीभरी पनि सामान्य सरह नै पुरै काम गर्नु भो । ज्वाईको परिक्षणको नतिजा पहिल्यै कोभिड १९ डिटेक्टेड देखाएकोले भाइरस संक्रमित भैसकेको भन्ने बुझियो । हामी ८ जनाले एकै समय, एकै ठाउँमा परिक्षण गरायौं । ५ जनाको नेगेटिभ देखायो । ३ जनाको पोजेटिभ ।

म नेगेटिभ । मेरो श्रीमती पोजेटिभ । ज्वाई पोजेटिभ, बैनी नेगेटिभ । बुवाआमा पोजेटिभ । छोरीछोराहरु नेगेटिभ । १८ बर्ष कम उमेरकाको नपर्ने भएकोले भान्जाको गरिएन ।

म र मेरो श्रीमतीले यो कोरोना अवधिको कुनैपनि समय पहिले भन्दा फरक जीवनशैली अपनाएनौं । नतिजा किन यस्तो ? मैले अमेरिकाको प्रबिधि र बिज्ञान माथि प्रश्न गर्न नसकेपछि कारण आफैले खोजेर अनुमान लगाएँ ।

संसारका ७ अरब मानिसको शरीरको प्रतिरोधात्मक गुण हरेकसँग फरक हुँदो रहेछ । चिनेका रोग बाहेक यस्ता नौलो रोगसँग हरेकको शरीरले फरकफरक किसिमले लड्ने देखियो । हाल संसारमा यो भाइरसको संक्रमण भएका मध्ये २ प्रतिशत मान्छे मर्नु । कोहीको ७ दिनमा लक्षण देखाउनु । कोहीको २/३ हप्तामा । कसैको सामान्य लक्षण देखाउँदै शरीरमा मिल्नु, जस्तै; मेरो श्रीमती, बुवाआमा । संसारका ८० प्रतिशत मान्छेले यो भाइरस पचाउन सक्न पनि भनिएको छ । न्युयोर्कस्थित स्वास्थ्यकर्मी तारा भट्टराईले एक लेख मार्फत लेखेकी छिन्; “एउटा १२X१४ साईज़काे काेठामा सँगै बस्ने तर छुट्टै बेडमा सुत्ने दुई पुरुषहरु मध्ये एकलाई काेराेना भाईरस हुँदा अर्काेलाई नसरेकाे ।

दुई अलग १२X१४ साईज़काे काेठामा बस्ने तर चारजनाले एउटै बाथरूम प्रयाेग गरेकाे अवस्थामा एकलाई संक्रमण हुँदा अरु तीनजनालाई नसरेकाे अवस्था ।

एउटै ६०० स्क्वायर फिटकाे काेठामा बसेका श्रीमान र श्रीमती मध्ये श्रीमानलाई भाईरस भएकाे तर एउटै बाथरूम प्रयाेग गरेर श्रीमानले मास्क लगाई ६ फिट डिस्ट्यान्स कायम गरेर कुराकानी गर्ने र खाना समेत पकाउने तर भॉडाकुँडा सेयर नगर्दा श्रीमतीलाई भाईरस नसरेकाे।”