समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् ।

प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु नै लागेको गम्भीर आरोप लगाएका थिए । धेरैले यसलाई सत्ता बचाउने भारतीय कार्डका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका थिए ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्षनेताले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको अभिव्यक्तिका कारण अन्य विषयमा प्रवेश नै नभएको एक नेताले जानकारी दिए ।

आजको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको भन्दै राजिनामा भारतले नभई पार्टीले माग्ने उल्लेख गरे । उनले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको भन्दै यस्तो अभिव्यक्तिबाट नेपाल अझै पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश विश्वभर जाने उल्लेख गरे ।

उनले पार्टीका नेतामाथि प्रधानमन्त्रीबाट भएको अविश्वासको समेत समिक्षा हुनुपर्ने उल्लेख गरे । उता, आजको बैठकमा सोमबार निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको सम्बन्धमा समेत चर्चा भएको छ ।

झापाका मान्छेले यस्तो दल दर्ता गरेका कारण पनि धेरैले यसलाई ओलीकै षडयन्त्रका रुपमा हेरेका छन् । मंगलबार आफुविरुद्ध उठेका प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्रीले भने भारतको विरोध गर्दा पार्टीका नेताको चित्त दुखेको भन्दै आलोचना गरेका थिए ।

उनले भारतीय मिडियामा आएको पक्षलाई मात्र आफुलाई उल्लेख गरेको उनको स्पटोक्ती थियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको बारे भने आफू अनविज्ञ रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकार संचालनमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालको आरोप थियो । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै उनको तिब्र आलोचना गरेका थिए ।

ओलीलाई पार्टी भन्दा गुट चाहिएको भन्दै उनको सोही प्रवृत्ति नै पार्टी र सरकारका लागि समस्या भएको उल्लेख गरे । उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् ।