समाचार

बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो ।

उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न समेत संघीय सरकारलाई निर्देशन दिएको छ । अहिले आफ्नो सवारी साधन हुनेहरु निर्वाध काठमाडौं आइरहेका छन् । तर, सार्वजनिक यातायात बन्द हुँदा आम सर्वसाधारण भने काठमाडौं आउन पाएका छैनन् । यसले काठमाडौंमा रोजगारी गर्नेहरुलाई समस्यामा पारेको छ ।