समाचार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।