खेलकुद

लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लीग विजेता लिभरपुललाई तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ४–० गोल अन्तरले हराएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उक्त नतिजा आएको हो । सिटीको घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा केभिन डि ब्रुइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरे ।

एक गोल सीटीले लिभरपुलका एलेक्स च्याम्बर्लिङको आत्मघाती गोलका रुपमा प्राप्त गरेको हो । सीटीले २५ औं मिनेटमा अग्रता लियो । पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए ।

फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई दबाबमा राखेका थिए । पहिलो हाफमा ३ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा समेत उत्तिकै दवावमा रह्यो । आत्मघाती गोल समेत दोस्रो हाफमै भएको हो । लिभरपुलले यस सिजनको लीग भने जितिसकेको छ ।