समाचार

बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा

बझाङ । बझाङमा गएको पहिरोमा मृत्यु हुनेको संख्य ६ पुगेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना वेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव फेला परेको छ ।

१५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको समेत पहिरामा परी ज्यान गएको छ । २० वर्षीय गिरी जेठारा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँ माथिबाट पहिरो आएपछि १७ वटा घर बगाएको थियो । धेरै मानिसले राती पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए । ७ जना भने वेपत्ता थिए ।

स्थानीय बासिन्दाका अनुसार यस घटनामा २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु समेत पहिरोमा बगेका छन् । यस गाउँमा ६५ घर परिवार छन् । बस्तीको बीचबाट आएको पहिरोका कारण अहिले गाउँ नै जोखिममा परेको छ। यसैबीच बझाङको केदारस्युँ गाउँपालिका ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेना सवार गाडी दुर्घटनामा परेको छ।

केदारस्युँ गाउँपालिका–४ बाग्थलामा सेना चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । सेनाले से १ ज ४७७ नम्बरको जिप लिएर पहिला गएको स्थानतर्फ लागेको थियो । सोही जीप दुर्घटनामा परेको हो ।

गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठसहित १५ जना चढेका थिए । गाडी सडक छेउमा पल्टिँदा नेपाली सेनाका ३ जना जवान घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र चलाउने, राजु कुमाल र मीनबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य छ ।