समाचार

कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला

धनगढी । कैलालीमा विष सेवन गरेका दुई युवतीको ज्यान गएको छ । शनिबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जानकारी गराएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावत विष सेवन गरेपछि मृत भेटिएको प्रहरीले जनाएको छ । रावत दिदीको घरमा बस्न भनी धनगढी आएकी थिइन्।

केही महिनादेखि साथी गोमासँगै बस्दै आएको बुझिएको प्रहरीको भनाई छ । जंगलमा घाँस काट्न गएका युवती बेहोस अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सल्फासको बोतल भेटिएको प्रहरीले जनाएको छ ।

अत्यन्तै मिल्ने साथि भएपनि विष सेवन गरी सँगै आत्महत्याको कारण भने खुलेको छैन । शवलाई पोष्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नेपालमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको छ ।