विज्ञान प्रविधि

मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ ।

आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा लामो ब्यघ्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरिएको उनको भनाई छ । आजका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको मन्त्रालयको भनाई रहेको छ । सुरुङ परीक्षण गर्न आवश्यक सबै प्राविधिक तयारी सकिएको सरकारको भनाई छ ।

अहिले परीक्षणमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी छोडिएको हो । यसरी पानी पठाउँदा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने भएको छ । पूर्ण रुपमा भरिएको सुरुङलाई करिब १० दिन थुनेर राखिने छ । त्यसपछि पानी भरिएकै परिमाणमा सुरुङबाट पानी छाडिनेछ । यसरी छाड्दा उत्तिकै दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

सुरुङ खाली भएपछि सुरुङको अवस्थाबारे अध्ययन गरिनेछ । यसको र्ण परीक्षण गर्न अर्को ७ दिन लाग्ने छ । त्यसबेला केही समस्या देखिएमा समाधान गरिने भएको छ । समस्या नदेखिएको अवस्थामा भने नियमित रूपमा सुरुङमा पानी पठाउन थालिने भएको छ । यो आयोजनाको अधिकांश काम इटालियन कम्पनी सीएमसीले गरेको थियो ।

सीएमसीले बीचमै काम छाडेपछि आयोजनाको बाँकि काम चिनियाँ कम्पनी सिनो हाइड्रोबाट भइरहेको छ । यो परीक्षण अनुसार सुन्दरीजलसम्म भने अब मेलम्चीको पानी आउने भएको छ । तर, घर घरमा भने मेलम्चीको पानी भने आइहाल्दैन । मेलम्चीको पानी वितरण गर्न सहरमा जोडिएका  लाइनमा परीक्षण गर्नुपर्ने छ । पानी जम्मा गर्न आठवटा नयाँ ट्यांकी समेत बनाइएका छन् । ती संरचनाको परीक्षण तथा सफाईको काम पानी आएपछि मात्र हुनेछ ।