समाचार

नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने भन्ने अफवाह मात्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशको बारेमा मात्र सचेत रहेको बताएका थिए । यसअघि प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भइरहेको बताएको थिए ।

नेताहरुले भने यसलाई ओलीको सत्ता जोगाउने कार्ड मात्र भएको बताएका छन् । शीतल निवासको छलफलपछि प्रचण्ड ओलीसँग निर्णायक वार्ताका लागि भन्दै प्रधानमन्त्री निवास गएका थिए । प्रचण्ड र ओलीबीच दुई दुई जना दोस्रो तहमा नेतासमेत सहभागी थिए । ओलीको साथमा शंकर पोखरेल र विण्णु पौडेल तथा प्रचण्डको साथमा जनार्दन शर्मा र वर्षमान पुन सँगै थिए ।

यो वार्तामा सोमबारको स्थायी समिति बैठक अगाडी पुनः सहमतिको प्रयास गर्ने सहमति भएको छ । तर, दुबै नेता आफ्नो अडानमा अडिग रहेपछि सोमबार समेत सहमति हुनेमा भने आशंका जारी नै छ । आइतबार नै प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेता सुवास नेम्बांग काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगे ।

उक्त भेटमा संवैधानिक निकायमा नियुक्तिको विषयमा कुराकानी भएको बताइए पनि सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने र देउवासँग मिलेर अर्को सरकार गठन गर्ने गरी ओलीको प्रस्ताव देउवासँग पुगेको समेत स्रोतको दावी रहेको छ ।

यसले आइतबार पनि आशंका र अफवाहका बीच छलफल टुगिंएका छन् । तर, नेकपाको सन्दर्भमा अब के हुन्छ भन्ने सम्बन्धमा भने आइतबार कुनै निष्कर्ष आएन । छलफल सोमबार निर्णायक हुने नेताहरुको दावी रहेको छ ।