फिचर

६ महिनापछि खुल्यो रसुवागढी नाका

रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार सुरक्षा प्रवन्ध पछि आजदेखि नाका सञ्चालनमा आएको हो ।

रसुवागढी भन्सार कार्यालयका अनुसार बिहान ८ बजेबाट नाका संचालनमा आएको छ । अब चीन र नेपालबीच यो नाका हुँदै पुनः व्यापार शुरु भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनाइएको छ । नाका सञ्चालन गर्न बनाइएको सुरक्षा प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने भएका छन् ।

मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने गरी सहमति भएको छ । व्यवसायीहरु चीनतर्फ जान पाउँदैनन् । रसुवागढीसम्म पुग्न समेत जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ । चालक र सहयोगीको कोरोना परीक्षण गरिएको छ ।