फिचर

पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै

काठमाडौं । नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अन्य ७ जनाको समेत पिसिआर पोजेटिभ आएपनि पुनः परिक्षण गरिदैछ । नेपाल एयरलाइन्सले ७ जनामा पुष्टी भएको र ७ जनामा पुष्टी हुन बाँकि रहेको बताएको छ । तर, स्रोतका अनुसार १४ जनामै पिसिआर पोजेटिभ आएको छ ।

७ जनाको दोस्रो परिक्षण गरिदैछ । यसबाट पोजेटिभ आएमा कोरोना संक्रमणको पुष्टी हुनेछ । उनीहरु सबै अहिले सोल्टी होटेलमा छन् । कर्मचारीलाई कोरोना लागेपछि निर्धारित उडान भने प्रभावित नहुने कम्पनीले जनाएको छ ।

५० जनामा पिसिआर परिक्षण गरिएकोमा १४ जनामा पोजेटिभ देखिएको हो । नेपाल एयरलाइन्सले पछिल्लो समय विदेशबाट नेपाली नागरिकलाई घर फर्काउने अभियानमा उद्दार उडानको काम गरिरहेको छ ।

यसक्रममा कर्मचारीलाई कम्पनीले होटेलमा क्वारेन्टिनका रुपमा बस्ने सुविधा उपलब्ध गराएको छ । नेपाल एयरलाइन्सले ४ वटा जहाजबाट नागरिकलाई धमाधम घर फकाइरहेको छ ।