विज्ञान प्रविधि

के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

काठमाडौं । केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ढलमा कोरोना भाइरसको नुमना भेटियो । यो खबरले सरकारलाई झस्काएको छ । कतै समुदायमा कोरोना त फैलिएन ? सोहीअनुसार सरकारले अब समुदायमा कोरोना परीक्षणको दायरा बिस्तार गर्न लागेको छ ।

सोहीअनुसार काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जहाँ समुदायमा संक्रमण नफैलिएको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रबाट २२८ वटा नमुना लिएर परीक्षण गरिएको थियो । यी नमुना कुनै संक्रमितको नजिकका मानिसको नभएर समुदायमा गएर संकलन गरिएको थियो । त्यसक्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको मन्त्रालयले जनाएको छ । अन्य स्थानको रिपोर्ट भने आइसकेको छ ।

सबै स्थानको रिर्पोट आएपछि समुदायमा कोरोना फैलिएको वा नफैलिएको पुष्टी हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

जनस्वास्थ्यका विज्ञहरुले विदेशबाट आएका व्यक्तिहरुको निगरानी राम्रोसँग नभएको, काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु आइरहेका हुनाले समुदायमा फैलिएको हुन सक्ने आशंका गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सरकारले समुदायबाट नमुना संकलन गरेको हो ।