स्वास्थ्य

विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ ।

महामारीबाट बच्ने हो भने पर्यावरणमा सबै जीव जन्तुको अस्तित्व रक्षा गर्नुपर्ने सुझाव समेत विज्ञले दिएका छन् । जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञले सुझाएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विज्ञबाट यस्तो सुझाव आएको हो ।

इन्सटिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणको क्षति, प्राकृतिक स्रोतसाधनमा अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडनजस्ता कारण मुख्य हुन् । विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । किनकी मानिसले प्रकृति र जीवजन्तुमाथि अधिक दोहन र उपयोग बढाएको छ ।

 

त्यसको शिकार स्वयमः मानिस हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । मानिसले पर्यावरण र जंगली जीवजन्तु नबचाउने हो भने महामारीको सामना गर्न समेत तयार भएर बस्नुपर्ने सुझाव विज्ञको रहेको छ । विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर वार्षिक करिब २० लाख मानिसले ज्यान गुमाउँछन् ।

पछिल्ला वर्षहरुमा देखिएका सबैजसो खतरनाका जंगली जनावरबाट मानिसमा सरेका हुन् । प्रतिवेदन अनुसार पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले वृद्धि भएको छ । कतिपय समुदाय घरपालुवा र जंगली जीवजन्तुको मासुमै आफनो जीवन निर्भर गराएका छन् । जंगली जनावरबाहेक बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार रहन्छन् ।
एजेन्सी