स्वास्थ्य

कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

न्यूयोर्क

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले आर्थिक गतिविधी रोक्न अस्वीकार गर्दै आएका थिए । उनले भाइरसलाई ट्रम्पले जस्तै ‘सामान्य फ्लू’ को संज्ञा दिएका थिए ।

मंगलबार ब्राजिलियन टिभी च्यानलमा बोल्दै बोल्सोनारो आफैँले भाइरस लागेको जानकारी दिएका हुन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै भाइरसबाट बच्न भनेर बोल्सोनारोले हाइड्रोक्सिक्लोरिक्लिन र एजिथ्रोमाइसिन सेवन गर्दै आएका थिए । ट्रम्पले बिना बैज्ञानिक प्रमाण हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस लाग्न नदिने एवं निको हुने दावी गरेपछि बोल्सोनारोले आफ्नो देशमा पनि ठूलो परिमाणमा उक्त औषधी मगाएका थिए । उनी आफैँले उक्त औषधी सेवन गरेको जानकारी भने राष्ट्रपतिको प्रेस अफिसले मंगलबार बिहान दिएको थियो ।

ट्रम्पले हाइड्रोक्सिक्लोरिक्लिनले नै आफुलाई भाइरस लाग्नबाट रोकेको समेत दावी गरेका थिए । तर, उनका ब्राजिली समकक्षीको संक्रमणले उक्त रोगले भाइरस लाग्न नछेक्ने पुष्टि गरिदिएको छ । बोल्सोनारोलाई सोमबार ज्वरो आएको स्थानिय मिडियालाई उद्धृत गर्दै अमेरिकि सञ्चार माध्यमले जनाएका छन् । उनको घाँटीमा कुनै संक्रमण देखिएको थिएन ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको छ भने ६५ हजारले ज्यान गुमाइ सकेका छन् । गत मार्चमा गरिएको परिक्षणमा उनको शरिरमा भाइरस देखिएको थिएन ।