स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ नमुना परीक्षण भएको थियो । त्यसबाट मात्र २ सय ४ जनामा कोरोना देखिएको छ । यो संक्रमणको दरको हिसावले अघिल्लो साताहरुको तुलनामा निकै संतोषजनक अवस्था हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो साता कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर समेत ओरालो लागेको हो ।

१९ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षणबाट ७४० मा संक्रमण पुष्टि भएको थियो । यो दिन नेपालमा संक्रमितको ग्राफ सबैभन्दा उचाईमा पुगेको थियो । त्यो दिन औसतः संक्रमित दर दर १६.५ प्रतिशत देखिएको थियो । त्यसदिन पछि भने संक्रमित र संक्रमणको दरसमेत सुधारोन्मुख देखिएको छ ।

असार २० मा ४०५० नमुना परीक्षणबाट २३२ जनामा मात्र कोरोना देखियो । सो दिनदेखि यता भने ३ सय संक्रमित कटेको छैन । सोमबार सबैभन्दा कम १८० जनामा मात्र कोरोना देखियो । यस दिन ४७०० नमुना परीक्षण भएका थिए ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौं र ललितपुरमा मात्र क्रमशः १४ र १० जनामा संक्रमण देखिएको छ । यसले अब कोरोनाको जोखिम काठमाडौंमा बढी रहेको देखाएको छ । किनकी अहिले काठमाडौंमा लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको छ । यसले जोखिम पनि उत्तिकै बढाएको हो ।

मंगलबार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिए । अछाम र बैतडीमा ११, ११ जना थप भएका छन् । महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीमा ८, डोटीमा ७, मोरङ र डडेलधुरामा ६, ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलबार रुकुम पश्चिम, नवलपुर र सल्यानमा ५, ५ जना, सप्तरीमा ४, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीमा ३, ३ जनामा कोरोना देखिएको छ ।

तनहुँ, पाल्पा र बर्दियामा २, २ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नवलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको तथ्यांक छ ।