समाचार

नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित भइरहेको छ । तर, सहमति भने जुट्न सकेको छैन । सोमबार र मंगलबार दुई अध्यक्षबीच करीव ६ घण्टा वार्ता भएपनि टुंगोमा भने पुग्न सकेन ।

असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरिरहेका छन् । सोहीकारण प्रधानमन्त्री बैठक आलटाल गर्ने पक्षमा छन् । प्रचण्ड र ओलीबीच बुधबारसमेत छलफलको तयारी रहेको बताइएको छ । तर, त्यसको समय भने तय भइसकेको छैन ।