स्वास्थ्य

के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा झरेको हो । यसले सरोकारवालामा सकारात्मक संचार उत्पन्न गरेको छ ।

सरकारले यसबीचमा कोरोना परीक्षणको संख्या भने घटाएको छैन । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या भने १६ हजार ४ सय २३ पुगेको छ।

बुधबार ४ हजार ६ सय ९६ गरी अहिलेसम्म नेपालमा पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । यो जनसंख्याको अनुपातमा दक्षिण एसियाकै सबैभन्दा धेरै हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनहरुमा २५ हजार ४० रहेको तथ्यांक छ । अहिले क्वारेन्टिनमा बस्ने मानिसको संख्या समेत उल्लेख्य घटेको छ ।