समाचार

हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।

संसद अधिवेशन अन्त्य भएपछि उनीहरुले विशेष अधिवेशन आह्वान गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । छलफलमा संसदमा दर्ता गरेको संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई तत्कालै अगाडि बढाउन माग गर्दै विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

संसदमा विशेष अधिवेशन आह्वान गर्न कुल सांसदको २५ प्रतिशत सदस्य आवश्यक पर्छ। कांग्रेससँग २२ प्रतिशत सांसद रहेका छन् । एमसीसी पास गराउने सवालमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको एक मत थियो । तर, सत्तारुढ दल भित्रैबाट दवावमा आएका प्रधानमन्त्रीले संसद बन्द गर्दा नेपालमा एमसीसीको भविश्य नै अन्यौलमा छ ।

त्यसकारण प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रधानमन्त्रीसँग संशकित बनेको हो । यसअघि प्रधानमन्त्रीले बर्खे अधिवेशनमै अमेरिकी परियोजना एमसिसी संसदबाट अनुमोदन हुने आश्वासन दिएका थिए । तर, उनले पार्टीमा यसबारे सहमति जुटाउन सकेनन् । एमसीसीबारे नेकपा भित्र भने ठूलो विवाद रहेको छ ।