विज्ञान प्रविधि

आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान

काठमाडौं । आजदेखि नेपालमा चार दिनसम्म लगातार पानी पर्ने भएको छ । सोहीकारण सचेत रहन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहने उल्लेख गरेको छ । यस्तो समयमा सर्तकता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने सम्भावना रहेको छ ।

प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन आग्रह गरिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणको सूचनामा उल्लेख छ ।

ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध गराएको छ ।