समाचार

नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानल नेपालमा प्रसारण नगर्ने निर्णय गरेका हुन् । बिहीबार साँझबाटै यो निर्णय कार्यान्वयनमा आउने भएको छ ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन् । भारतीय टिभी च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्रीबारे तल्लो स्तरमा गिरेर सामग्रीहरु प्रसारण गरिरहेका छन् । सोहीकारण भारतीय च्यानलको प्रसारण नेपालमा रोक लगाउन माग भइरहेको थियो ।

प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरी भारतीय च्यानलहरुले अपमान गरिरहेका छन् । सोहीकारण अब इन्टरनेटको माध्यमबाट आउने च्यानलबाहेक अन्य माध्यमबाट आउने च्यानलहरु भने बन्द भएको हो ।

भारतीय न्युज च्यानलमा नेपाल विरोधी गालीगलौज अति धेरै भएपछि वितरक आफैंले आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । नेपालमा इन्टरनेटका माध्यमबाट आउने च्यानलको समेत प्रसारण बन्द गर्ने तयारी सरकारले गरेको छ ।