समाचार

ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

न्यूयोर्क

अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो ।

न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो । त्यस बिरुद्ध ट्रम्पले अदालत गुहारेका थिए । तल्लो तहका अदालतमा पराजय पछि ट्रम्प सर्बोच्च पुगेका थिए । सर्बोच्चले ट्रम्पलाई डिष्ट्रिक्ट एटोर्नीले मागेको कागजात उपलब्ध गराउन आदेश दिएको हो । ट्रम्पले मनोनित गरेका नेल गोर्सेच र ब्रेट काभानाफ सहित सात जना न्यायाधिशले राष्ट्रपतिको दावी विरुद्ध आदेश जारी गरेका हुन् । कन्जरभेटिभ न्यायाधिशहरु क्लेरेन्स थोमस र सामुएल अलितोले मात्र ट्रम्प पक्षमा धारणा राखेका छन् ।

अदालतले आसन्न राष्ट्रपतीय चुनावसम्म भने ट्रम्पले वित्तिय कागजात गोप्य राख्न सक्ने आदेश दिएको छ । विश्लेषकहरुले चुनावसम्म कागजात सार्वजनिक नहुँदा ट्रम्पलाई राजनीतिक घाटा केही कम भए पनि उनले कुनै आर्थिक अपराध गरेको भए अब मुक्ति नपाउने बताएका छन् । म्यानहाटन डिष्ट्रिक्ट एटोर्नीले साइरस भान्स जुनियरले सर्बोच्चको फैसलले कानूनी शासनको मान्यताले जित हासिल गरेका र अब अनुन्धानले निरन्तार पाउने बताएका छन् । ट्रम्पले अदालत गुहार्दा आफ्नो अनुसन्धान एक बर्ष ढिलो भएकोमा अब छिट्टै निश्कर्षमा पुग्ने उनको भनाइ छ ।

सर्बोच्चको यहि प्यानलले हाउस अफ रिप्रिजेन्टेटिभले माग गरे बमोजिम ट्रम्पले तत्काल ट्याक्स रिटर्न विवरण बुझाउनु नपर्ने फैसला सुनाएको छ । सर्बोच्चले यसमा ट्रम्प र संसद दुबैको दावी पर्याप्त चित्तबुझ्दो नरहेको कारण तल्लो तहकै अदालतले शक्ति पृथकिकरणको सिद्धान्तबाट यसलाई अझ गहिरिएर विश्लेषण गर्नुपर्ने राय दिएको छ । त्यस अनुरुप आफूहरु जिल्ला अदालत जान तयार रहेको हाउस स्पिकर न्यान्सी पेलोसीले प्रतिकृया दिइ सकेकी छिन् । अमेरिकी राष्ट्रपतिको उम्मेद्वारले सुरुमै ट्याक्स रिटर्न सार्वजनिक गर्ने चलन रहे पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पका वकिलहरुले दावी गरे बमोजिम अमेरिकी राष्ट्रपति कुनै निकायको अनुसन्धानभन्दा माथि रहने भनाइलाई भने सर्बोच्चले खारेज गरिदिएको छ । सर्बोच्चले राष्ट्रपति कानूनभन्दा माथि नरहेको र डिष्ट्रिक्ट एटोर्नीहरुले स्थानीय मुद्दामा अनुसन्धान गर्न सक्ने नजिर सर्बोच्चले एक पटक स्मरण गराएको छ । ट्रम्पले भने दुबै मुद्दाको फैसलाप्रति चित्त बुझाएका छैनन् । सर्बोच्चमा आफैंले मनोनित गरेका दुई सहित रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका बहुमत न्यायाधिश रहेको कारण आफ्नो पक्षमा फैसला आउने उनको अपेक्षा थियो । फैसलापछि ट्विट गर्दै अदालतले विगतभन्दा फरक शैलीमा आफुप्रति पक्षपात गरेको उनले आरोप लगाएका छन् ।