फिचर

सरकारको निर्णयलाई टेरेनन् यातायात व्यवसायीले, सार्वजनिक यातायात नचल्ने

काठमाडौं । सरकारले करीव ४ महिनादेखि कामबिहिन रहेका यातायात व्यवसायीलाई सप्राइज प्याकेज दियो । त्यो थियो, शुक्रबारबाट सार्वजनिक यातायात छोटो दुरीमा संचालन हुने, त्यसमा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने र भाडा समेत ५० प्रतिशत बढ्ने ।

खासगरी यातायात संचालन गर्नुपर्ने जनदवावमा बीच व्यवसायीलाई समेत केही राहत होस भनेर सरकारले गरेको यो निर्णयलाई भने सरकारले लत्याएका छन् । व्यवसायीले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यातायात संचालनको वातावरण नभएको र त्यसका लागि सरकार उदासीन बनेको भन्दै तत्काल सार्वजनिक सवारी साधन नखुल्ने निर्णय गरेको हो । सरकारले बिहीबार जिल्लाभित्र र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चलाउने निर्णय गरेको थियो ।

बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन हुनुपर्ने शर्त राख्दै व्यवसायीले सरकारसँग बार्गेनिंग समेत थालेका छन् । सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नभएको समेत उनीहरुले बताएका छन् । महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी गर्नु माग पनि गरेको छ ।