अर्थतन्त्र

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ बढाइएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । भारतबाट मूल्य बढेर आएको भन्दै नेपालमा समेत बढाउने निर्णय लिइएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा मूल्य बढेर नयाँ मूल्य आएको निगमको भनाई छ ।