समाचार

पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो ।

जनताको जीवन रक्षाको दायित्वबाट कसैले पनि विमुख हुन नमिल्ने भन्दै उनले केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदको सामना गर्न सबै संयन्त्र प्रयत्नसिल रहेको समेत उल्लेख गरे । आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कोही पनि पछि हट्न नमिल्ने प्रधानमन्त्रीको तर्क थियो ।

रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने उनको प्रतिवद्धता रहेको छ । आफ्नो र आफुले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको समेत प्रधानमन्त्रीेले बताएका छन् ।

प्रधानमन्त्रीले अब नेकपाको विवाद मत्थर भएको संकेत समेत सम्बोधनका दौरान गरेका छन् । पार्टी विवादपछि सार्वजनिक रुपमा नबोलेका प्रधानमन्त्रीले विवाद कम भएसँगै सम्बोधन गरेको आंकलन गरिएको छ ।