स्वास्थ्य

कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

न्युयोर्क      

गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा जीवन र मृत्‍युसँग पौंठाजोरी खेल्नु परेको समाचार आईरहेका छन्।हालसम्म विश्वमा ५ लाख ५५ हजार मानिसले भाईरसका कारण ज्यान गुमाएका छन् ।यहाँ हामी कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेर हाल केही राहत महसुस गर्दै गरेको न्युयोर्क कुईन्सका एक धार्मिक गुरुले कोरोनासँग पौंठाजोरी खेल्दै बिताएको तीन महिना २० दिनको अनुभव बाँड्दै छौं ।

न्युयोर्क कुईन्सस्थित एक चर्चका धार्मिक गुरु गत मार्चको मध्यमा कोरोना संक्रमित भएपछि झण्डै स्वर्गको ढोका ढक्ढक्याउन पुगे ।उनी ५४ दिनसम्म भेन्टिलेटरमा बसे भने ६ हप्ता त कोमा (बेहोस) मा नै रहे ।३० बर्ष अगाडि भारतबाट अमेरिका आएका धार्मिक गुरु बेन्जामिन थोमसलाई कोरोना संक्रमण भएपछि लङ आईल्यान्डस्थित नासाऊ युनिभर्सिटी मेडिकल सेन्टरमा उपचारका लागि लगियो । उनलाई दुई हप्ता लङ्ग आईल्याण्डकै अस्पातलको भेन्टिलेटरमा राखेर उपचार त गरियो तर उनको स्थितमा सुधार भएन ।उनको जीवन प्रतिको आशा अन्त्य हुँदै गयो ।गुरुको स्वास्थ्य लगातार बिग्रिदै गएपछि थोमसको परिवार न्युयोर्कस्थित चर्चित अस्पताल माउण्ट साईनाइका चिनेजानेका एक मुटु सर्जन रबिन भर्गिजको संपर्कमा पुगे ।डा. भर्गिजको सल्लाहमा नै उनलाई माउण्ट साईनाइमा भर्ना गरी उपचार गरिएको बिहिबार अस्पतालले सार्वजनिक गरेको भिडियोमा डा भर्गिजले भनेका छन्; “धार्मिक गुरुको उपचार महामारी कै सबैभन्दा चुनौतिपूर्ण र अचम्मको उपचार हो”।

कोरोना संक्रमणपछि बेन्जामिनको शरीरको तौल ५० पाउण्ड घटेको छ । आधुनिक चिकित्सा बिज्ञानले उपलब्ध गराएका सबै किसिमका औषधीले पनि बेन्जामिनको स्वास्थ्यलाभको आशाको अन्त्य गरि सकेको अवस्थामा चिकित्सकले अन्तिम अस्त्रका रुपमा ‘मेडिकल्ली इन्ड्युस कोमा’ मा राखेको थियो।त्यसको दुई हप्तापछि भने गुरु बेन्जामिनको स्वास्थ्यमा हल्का सुधार देखिएको बताईएको छ ।कोरोनासँगको १ सय १० दिनको लडाईंमा जित हासिल गरी नयाँ जीवन पाएको खुसीमा चर्चका सम्पूर्ण परिवारसँग भेट गर्न पाउने इच्छा ब्यक्त गर्दै अस्पताल परिवारसँग हेलो-हाई गरी जुलाई २ तारिख बेन्जामिन अस्पतालबाट घर फर्किएका छन् । ईष्ट मेडो लङ आईल्यान्डमा बसोबास गर्दै आएका धार्मिकगुरुले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा तयार पारेको भिडियोमा भनेका छन्; “मास्क लगाउने कुरा र सामाजिक दुरीको कुरामा अत्यन्त सम्बेदनशील हुनु” ।