समाचार

म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ ।

प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकी शव शनिबार भेटिएका हुन् । प्रहरीका अनुसार धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ ।

धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ । बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

मराङमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

मालिका–६ की गीता रोका दुखुखोलामा बेपत्ता छन् । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पनि पहिरोका कारण हराइरहेका छन् । वेपत्ता नागरिकको खोजी कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।