समाचार

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

file

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ ।

तर, सडक अवरुद्ध भएको र पहिरोले ठूलो क्षति पुर्याएका कारण वेपत्ताहरुको खोजी कार्यमा भने कठिनाई उत्पन्न भइरहेको छ । शनिबार पनि बेपत्ताको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । शनिबार काठमाडौंबाट समेत उद्धार टोली उद्दारमा खटिएको थियो । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म ५२ घरमा क्षति पुगेको छ ।

जम्बुका विस्थापित ३० परिवारको लागि नगरपालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम समेत थालिएको प्रहरीको भनाई छ । बाढीले सम्पूर्ण भाग कटान गरेको झण्डै एक सय ५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माण शुरु भएको छ ।