डायस्पोरा

रुकुम घटनामा ज्यान गुमाउनेका परिवारलाई अमेरिकाबाट ४ लाख २० हजार रुपैंया सहयोग

न्युयोर्क

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरीकाबासी संचारकर्मीद्वय भोला आचार्य र दिनेशजंग शाहको संयोजनमा ६७ जना नेपालीहरुले गरेको सहयोग रकम ४ लाख २० हजार रुपैंया शुक्रवार नवराज विकको घरमा एक कार्यक्रमका बीच पिडित परिवारलाई हस्तान्तरण गरिएको भोला आर्चायले जानकारी दिए । 

कथित माथिल्लो जातकी प्रेमिकालाई वेहुलीको रुपमा भगाउन गएका भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विक र उनको साथमा गएको १८ जना साथीहरुको समुहमाथि स्थानीयको आक्रमणवाट हत्या गरिएका अन्य ५ जना भेरी नगरपालिका ४ कै सन्दीप विक सन्जु, गणेश वुढा मगर, सोही नगरपालिकाको ११ नम्वर वडाका लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका २ नाखिराका टीकाराम सुनार पिडित परिवारलाइ जम्मा भएको ४ लाख २० हजार रुपैया प्रति परिवार ७० हजारका दरले वितरण गरिएको छ । गो फण्डमा जम्मा भएको ३ हजार ६ सय २७ डलरबाट नेपालमा पैसा पठाउन लागेको खर्च कटाई ३ हजार ४ सय ९७ डलर ३ सेण्ट अर्थात ४ लाख २० हजार रुपैया वितरण गरिएको हो ।

संकलित रकमलाइ भेरी नगरपालिका ४ नं. वडाका वडाध्यक्ष खम्वजंग शाह, सोती हत्याकान्ड संघर्ष समितिका सहसंयोजक छवि पन्त, समाजसेवी तथा पश्चिम रुकुमका समाजसेवी तिलक भण्डारी, काँग्रेस जाजरकोटका नेता मुक्ति आचार्य र काँग्रेस नेता शिवप्रसाद आचार्यले हस्तान्तरण गरेका थिए । सहयोग रकम मृतक युवाहरुका आमाहरुलाई प्रदान गरिएको थियो । पिडितका परिवार तथा हस्तान्तरण गर्ने स्थानीयहरुले अमेरिकाबासी सहयोगीहरुलाई धन्यवाद दिएका थिए । सहयोग हस्तान्तरणका लागि पिडितहरुसंग समन्वय र कार्यक्रम सञ्चालन गर्ने कार्य कुशेमालिका अनलाइनका सम्पादक पत्रकार जनक केसीले गरेका थिए ।

अदालतको आदेशमा घटनाका दोषी वडाअध्यक्ष सहित २३ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।