फिचर

विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी दिएका हुन् ।

उनका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना देखिएको छ । त्यसमध्ये २७ हजार ३ सय ६२ जना नेपालीले कोरोनालाई जित्त सफल भएका छन् । अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

नेपालमा समेत गरेर विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ । ४६ हजार ३ सय ४६ जना संक्रमित भएका छन् । नेपालमा करीव १७ हजारमा कोरोना देखिएको छ ।

उता, नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको समेत संघले जनाएको छ ।

यसैगस अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनको विज्ञप्तीमा उल्लेख छ ।