स्वास्थ्य

अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो ।

ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे उजुरी परेपछि भने यो प्रकरणको अनुसन्धान थालिएको थियो । २०७६ असोज २ मा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको ‘बेनामे उजुरी’ परेको थियो ।

सोही अनुसन्धानका आधारमा प्रहरीले नक्कली भान्जा खडा गरी मृगौला लिएको तथ्य पुष्टी गरेको हो । सो अभियोगमा जनप्रतिनिधि, डाक्टरसहित १२ जना पक्राउ परिसकेका छन् । त्यसमा अब प्रहरीसमेत मुछिएको छ । मिर्गौला तस्करीमा चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरिएको पाइएको छ ।

जसमा तेस्रो व्यक्तिको मिर्गौला झिकेर राखिएको छ । अर्थातः सक्कली भान्जा विदेशमा रहेका बेला नेपालमा नक्कली भान्जाबाट मृगौला हालिएको छ । घटनामा मुछिएका गुल्मीको रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाल र निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया समेत पक्राउ परेका हुन् ।

उनीहरुमध्ये थपलिया यसअघि पनि मृगौला प्रत्यारोपणकै प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि मुछिएका थिए । यस प्रकरणमा भरतपुर मेडिकल कलेजबाट डा. राकेश कुमार बर्मा, अस्पतालका सिइयो डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती पक्राउ परेका छन् ।

कलेजका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले, जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसीलाई समेत प्रहरीले यस प्रकरणमा पक्राउ गरेको छ । जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसीसमेत पक्राउ परेका हुन् । यसबाहेक जमुना राजभण्डारी र रेश्मा राई समेत यस प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।