स्वास्थ्य

म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ ।

आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको हो । म्याग्दी प्रहरीका अनुसार यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ ९कल्लेनीका जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै वेपत्ता छन् ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको  हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाडौं पठाइएको छ । धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएपछि ठूलो मानवीय क्षति भएको छ ।

मराङ पहिरोमा ज्यान गुमाएका १९ जनाको भने आइतबार सामुहिक अन्त्येष्टी गरियो । यहाँ अझै २ जना वेपत्ता छन् । गाउँ नै सखाप हुने गरी पहिरोले क्षति गरेपछि गाउँलेहरु शोकमा छन् । बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परी १९ को ज्यान गएको थियो । दुई परिवारका ७ जनाको एउटै चिहानमा राखी अन्त्येष्टि गरिएको छ ।