फिचर

राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले  नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् ।

२०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको बताए । सांस्कृतिक तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको भन्दै उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने उल्लेख गरे ।

भारतले विवादित अयोध्या खडा गरेको उनको तर्क छ । नेपालकी छोरी सिता भारतका रामलाई नभई अयोध्याका रामलाई दिएको भन्दै उनले अयोध्या नेपालमा पर्ने उल्लेख गरे । उनले भने, ‘अयोध्या वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन ।’

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका भएकाले राम नेपाली नै रहेको उनको तर्क छ । संचारको कुनै सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट छोरी माग्न कुनै पनि व्यक्ति जनकपुर आउन नसक्ने प्रधानमन्त्रीको तर्क छ ।