मनोरञ्जन

महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

काठमाडौं । नायक राजेश हमालले महानायकका सन्दर्भमा कलाकार दीपाश्री निरौलालाई क्षमा गरिदिन आफ्ना फ्यानहरुलाई आह्वान गरेका छन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल प्रति लक्षित गर्दै उनलाई महानायक केही संचारकर्मीले मात्र बनाएको धारणा राखेकी थिइन् । अहिले सिनेमा उद्योगमा राजेश हमाल नभएको समेत उनको तर्क थियो ।

यो तर्क सार्वजनिक भएपछि फ्यानहरुले उनको विपक्षमा गालिगलौज जारी राखेका छन् । त्यसपछि दीपाश्रीले सार्वजनिक रुपमै उक्त अभिव्यक्तिबारे माफी मागेकी छिन् । तर, उनीविरुद्ध गाली आउन छाडेको छैन । यसले आफु तनावमा पुगेको उनले बताइसकेकी छिन् । लामो समयसम्म यस काण्डमा मुख नखोलेका राजेशले बुधबार राती बोकेका हुन् ।

उनले मध्यरातमा एक भिडियो सार्वजनिक गरेका छन् । जहाँ हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थकसँग आग्रह गरेका हुन्। आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन समेत उनले आह्वान गरे ।

मानवीयताको हिसावले यस्ता प्रतिक्रियामा आफुले खासै चासो नदिने र काममा मात्र ध्यान दिने उनको भनाई छ । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन्। कलाकारिता कुनै व्यक्तिको नभई राष्ट्रको सम्मानको विषय भएको भन्दै सबै कलाकारलाई सम्मानित दृटिले हेर्न आह्वान समेत उनले गरेका छन् ।