विज्ञान प्रविधि

केही दिन नेपालमा ठूलो पानी नपर्ने

काठमाडौं । बाढी र पहिरोले वितण्डा मच्याएको अघिल्लो साताको तुलनामा आगामी केही दिन वर्षा कम हुने भएको छ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविको प्रक्षेपण रहेको छ । अघिल्लो बिहीबारदेखि सक्रिय मनसुन मंगलबारबाट केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको बताइएको छ । मौसम सुधारसँगै अबका तीन दिन लगातार झरी पर्ने सम्भावना समेत कम भएको छ । मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षा तथा छिटपुट वर्षा भने जारी नै रहने छ । बिहीबारदेखि सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ ।

मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका छन् । मध्यसाउनमा बाढी र पहिरोले अझ ठूलो क्षति गर्ने सरकारको पूर्वानुमान रहेको छ ।