समाचार

ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय

न्यूयोर्क

अनलाईन कक्षा मात्र पढ्ने विदेशी विद्यार्थीले अमेरिका छोड्नु पर्ने निर्णयबाट ट्रम्प प्रशासन पछाडि हटेको छ । सरकारले गत जुलाई ६ मा अनलाईन मात्र कक्षा लिने एफ वान भिसा भएका विद्यार्थीले आफ्नै देश फर्किएर पढाई निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो ।

फर्कन नमान्ने विद्यार्थीलाई पक्रेर डिपोर्ट गरिने युएस इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्टको भनाइ थियो । आप्रवासीप्रति सुरु देखिनै अनुदार ट्रम्प प्रशासनले आसन्न राष्ट्रपतीय चुनावको फाइदा हेरेर उक्त निर्णय लिएको थियो । तर, उनको निर्णयको चर्को आलोचना भयो । कोरोना भाइरस महामारीका कारण सबै शिक्षण संस्थाले अनलाईन पढाईलाई जोड दिएका बेला आएको यस्तो निर्णयले बहु संख्यक विद्यार्थी अमेरिका छोड्न बाध्य हुने भन्दै सरोकारवालाले विरोध गरेका थिए ।

सरकारको निर्णय बिरुद्ध विश्व प्रख्यात हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीले अदालतमा मुद्दा दायर गरेका थिए । मंगलबारको सुनुवाइमा सरकारले उक्त निर्णय फिर्ता लिने जानकारी अदालतलाई दिएको थियो । सरकार पछि हटेपछि विद्यार्थीहरुको जीत भन्दै हार्वर्ड विश्वविद्यालयले खुसीयाली मनाएको छ । यो निर्णय कार्यान्वनमा गएको भए १० हजार बढि नेपाली विद्यार्थी पनि प्रभावित हुने आंकलन गरिएको थियो । अब अमेरिकामा रहेका विद्यार्थीलाई भन्दा पनि नयाँ भिषा आवेदन गर्ने विद्यार्थीको हकमा यो नियम लागु गर्ने सरकारले जनाएको छ ।