समाचार

अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ ।

कोभिड–१९ का कारण गत चैतबाट पठनपाठन अवरुद्ध भएपछि शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी ‘वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको थियो ।

उक्त निर्देशिकाको अधीनमा रहने गरि संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाइन/अफलाइन मार्फत) थप व्यवस्थित गर्ने तयारी गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफ.एम. मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।