समाचार

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

न्युयोर्क

राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् ।  राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र प्रचार गर्नुलाई संघीय कानूनको प्रष्ट रुपमा उलंघन भएको भन्दै बिज्ञहरुले आलोचना गर्दै आएका थिए ।  छोरी ईभांकाले गोयाको कालो सिमीको बट्टा बोकेको फोटो सामाजिक संजालमा आउने बित्तिकै सर्बत्र आलोचना बढ्दै गएको अवस्थामा राष्ट्रपति स्वयमले भने गोया कम्पनीको राज्मा, चना नरिवलको धुलो लगायतका पाँच उत्पादनलाई आफ्नै टेबलमा राखेर प्रदर्शन गरेका छन् । ट्रम्पले बुधबार गोयाका ती उत्पादनलाई ओभल अफिसको आफ्नै टेबलमा लहरै राखेर दुबै हात उठाएर ‘थम्स अप’ समेत गरेका छन् ।

ईभांकाले मंगलबार गोयाको कालो सिमीको बट्टा बोकेर कम्पनीको नारा ‘यदि यो गोया हो भने यो राम्रो छ’ लाई अंग्रेजी र स्प्यानिस भाषामा लेखेर ट्विटर र फेसबुकमा फोटो पोष्ट गरेकी थिईन ।  

अमेरिकी कानूनले संघीय कर्मचारीलाई सरकारी कार्यालयमा कुनै पनि उत्पादन सेवा र उद्यमको समर्थन गर्न वर्जित गरेको छ ।  ल्याटिनो समुदायमा अत्याधिक चर्चित गोयाका मालिक रोबर्ट अनन्युले गत हप्ता राष्ट्रपति ट्रम्पसँगको ह्वाईट हाऊसमा आयोजित सार्वजनिक भेटघाटका क्रममा ‘तपाईंलाई नेताको रुपमा पाएर हामी आफुलाई भाग्यमानी ठान्दछौ’ भनेका थिए ।  गोया मालिक अनन्युले राष्ट्रपतिलाई सार्वजनिकरुपमा समर्थन गरे लगत्तै गोयाका उत्पादनलाई बहिस्कार गर्दै ‘बोइकट गोया’ र ‘गोयावे’ जस्ता ह्यासट्याग ट्विटरको ट्रेन्डिङमा थिए ।