फिचर

विदेशबाट आउने रेमिट्यान्स ३ प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा आउने रेमिट्यान्स कोरोना भाइरसको माहामारी सँगै केही घटेको छ । गत आर्थिक वर्ष २०७६\७७ को ११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशत नकारात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने भारी गिरावट आएको छ ।

नेपालीहरु विदेश जाने संख्यामा १२.४ प्रतिशतले कमी आएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।