रोचक खवर

प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण सार्वजनिक गर्यो ।

जसमा प्रधानमन्त्रीको बोली राजनीतिक नभएको र कुनै धर्म र आस्थामाथि प्रहार गर्ने उद्देश्यले नआएको स्पष्ट पार्यो । परराष्ट्रको यो स्पष्टिकरणले भने नेपाल र भारत सम्बन्धमा आउन सक्ने सम्भावित फाटोलाई केही सुधार गरेको पाइएको छ । भारतमा संचारमाध्यमले बहस चलाएपनि भारत सरकारले भने यो मुद्दालाई उचाल्ने संकेत गरेन् ।

भारतीय विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे पत्रकारले प्रश्न राखेका थिए । उनले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको भन्दै थप टिप्पणी आवश्यक नभएको बताएका छन् । ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ’,उनले भने ।