स्वास्थ्य

नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी

काठमाडौं । शनिबार नेपालमा कोराना भाइरससम्बन्धी सकारात्मक खबर सार्वजनिक भएको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र थप संक्रमित भेटिएका छन् । यो संख्या पछिल्लो दुई महिनायता कै सबैभन्दा कम हो । लगातार माथि चढ्दै गएको कोरोनाको ग्राफ पछिल्ला दुई सातायता ओरालो लागेको छ । अहिले नयाँ थप हुने भन्दा कोरोनालाई जित्नेहरुको संख्या बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसबाट मात्र ५७ जनामा कोरोना पुष्टी भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको छ । अब देशभरका क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना रहेका छन् ।

आइसोलेसनमा भने पाँच हजार ८ सय २५ जना रहेका छन् । शनिबार एक सय ३ जनाले कोरोनालाई जित्दै घर फर्किएका छन् । अब देशभर कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको मन्त्रालयको तथ्यांक उल्लेख छ । समुदायमा नफैलिएको र विदेशबाट आउने मानिसहरुको संख्या घटेसँगै अहिले नेपालमा कोरोना भाइरसको संक्रमण कम भएको हो । यद्दपी यो भाइरसको जोखिम भने जिवितै रहेको मन्त्रालयको भनाई छ ।