स्वास्थ्य

६ वटा जिल्ला बने कोरोना मुक्त

File

काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोनाबाट पूर्ण मुक्त हुन सफल भएका छन् । यी जिल्लामा संक्रमितको संख्या समेत कम थियो । अहिले संक्रमित धेरैजना भएको जिल्ला भने रौतहट, कैलाली, र बाजुरा हुन् । यी जिल्लामा भने पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । अब देशभर पाँच हजार ८ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमध्ये प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, वाग्मती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जनाको उपचार भइरहेको छ । प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।