समाचार

नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका छन् । सचिवालय बैठक अगाडी दाहाल र ओलीबीच झन्डै दुई घण्टा छलफल भएको थियो । त्यसपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एकता महाधिवेशनको मिति प्रस्ताव गरेका थिए ।

स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको प्रस्तावमा सहमति जनाए । सोहीकारण तत्कालका लागि नेकपाको विवाद मत्थर भएको छ ।

प्रचण्डले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्। अन्य नेताले  शीर्ष दुई नेताबीचको सहमतिलाई लिखित रुपमा ल्याउन र कार्यान्वयनको वातावरण बनाउन माग गरेका छन् । उनीहरुले दुई अध्यक्षबीचको सहमतिको कार्यान्वयनमा आंशका गरेका हुन् ।

महाधिवेशन छिटो गर्ने विषयमा नेताहरूले असहमति जनाएनन् । बरु मंसिरमै महाधिवेशन गर्न कति सम्भव हुने भन्नेमा आशंका व्यक्त गरेका छन् । सोहीकारण कार्यतालिकासहितको ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।